आइतबार, भाद्र २८ गते २०८३
images

पहिलो पटक राष्ट्रिय टोलीमा स्पिनर सागर ढकाल

एक्सप्रेस पाना
माघ २५, २०७८ मंगलबार
  • 471
    SHARES
  • पहिलो पटक राष्ट्रिय टोलीमा स्पिनर सागर ढकाल

    माघ २५ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा युवा स्पिनर सागर ढकालले पहिलो पटक स्थान बनाएका छन् । विभागीय टोली नेपाल पुलिस क्लबका खेलाडी समेत रहेका सागर पहिलो पटक टोलीमा स्थान बनाउँदै ओमान भ्रमणमा निस्कने भएका हुन् । 

    images

    टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले २० वर्षीय सागरलाई अन्तिम दिन समेट्दै १७ सदस्यीय टोली आईसीसी टि-२० विश्वकपको ग्लोबल छनोटका लागि घोषणा गरेका हुन् । यसअघि लोकेश बम र विवेक यादवले समेत पहिलो पटक टोलीमा स्थान बनाएका थिए । 

    नेपालको यु-१९ राष्ट्रिय क्रिकेट टोलीबाट समेत खेलेका सागर पछिल्लो समय घरेलु क्रिकेटमा समेत उच्च प्रदर्शन कायम गर्दै आईरहेका छन् । अघिल्लो महिना राजधानीमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका सागरले गत असोजमा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपीएल)मा चितवन टाईगर्सलाई उपाधि जिताएका थिए । सागर इपीएल क्रिकेटका ‘प्लेयर अफ दि सिरिज’ समेत चुनिएका थिए । 

    images

    सागर सम्मिलित नेपाली टोलीले आगामी अक्टोबर,नोभेम्बरमा अष्ट्रेलियामा आयोजना हुने विश्वकपका लागि ६ फागुनदेखि ओमानमा ग्लोबल छनोट खेल्दैछ । ग्लोबल छनोटमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

    आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल सहित क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह ‘बी’ मा बहराइन, जर्मनी, आयरल्यान्ड र यूएई छन्। नेपालले ६ फागुनमा आयोजक ओमान, ७ फागुनमा फिलिपिन्स र ९ फागुनमा  क्यानडाविरुद्ध खेल्नेछ । 

    दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रवेश गर्नेछन् । १२ फागुनमा हुने फाइनल खेलका दुई प्रतिस्पर्धी टोली विश्वकपका लागि छनोट हुनेछ ।
     

    ओमन भ्रमणमा निस्कने नेपाली टोली
    सन्दीप लामिछाने (कप्तान), शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, करण केसी, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, आसिफ शेख, अभिनाश बोहरा, जितेन्द्र कार्की, शहाब अलाम, कमल सिंह ऐरी, विवेक यादव, प्रदिप ऐरी, लोकेश बम, सागर ढकाल

    पाँच सदस्यीय अफिसियल
    ब्यवस्थापक : सुमनराज कार्की
    प्रशिक्षक : पुबुदु दासानायके (श्रीलंका)
    बलिङ कन्सल्टेन्ट : धम्मिका प्रसाद (श्रीलंका)
    प्राविधिक विश्लेषक : रमन सिवाकोटी
    फिजियो : विक्रम न्यौपाने


    तस्बिर : क्यान