माघ २६ काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
लिगको नवौं चरण अन्तर्गत पुलिस र च्यासलबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
कोभिड-१९ को कारण स्थगित पुलिस र च्यासलबीचको खेल आज बुधबार हुन लागेको हो । यस अघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो । तर, च्यासलका खेलाडीमा कोभिड-१९ को संक्रमण देखिएपछि खेल स्थगित गरिएको थियो ।
आज दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । लिगमा पुलिस ८ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा रहेको छ । च्यासल ८ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ । रेलिगेसन क्षेत्रबाट माथि उक्लन च्यासललाई यस खेल महत्वपूर्ण रहेको छ ।


