आइतबार, भाद्र २८ गते २०८३
images

सुरुवाती अग्रता जोगाउन नसक्दा मनाङ थ्रीस्टारसँग बराबरीमा रोकियो

एक्सप्रेस पाना
माघ २९, २०७८ शनिबार
  • 690
    SHARES
  • सुरुवाती अग्रता जोगाउन नसक्दा मनाङ थ्रीस्टारसँग बराबरीमा रोकियो

    माघ २९ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत १०औं चरणको खेलमा नेपाल आयल निगम मनाङ मर्स्याङदी फुटबल क्लब र रुसलान थ्रीस्टार क्लब बराबरीमा रोकिएको छ ।

    images

    शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मानङ र थ्रीस्टार १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन ।

    निकै रोमाञ्चक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ६०औं मिनेटमा मनाङले अग्रता बनाएको थियो । उसका लागि दयानन्दले ६२औं मिनेटमा मनाङलाई अग्रता दिलाएका थिए । उनी त्यसको एक मिनेटअघि मात्र मैदान प्रवेश गरेका थिए । दयानन्दले कप्तान अन्जन विष्टको क्रसमा ६ यार्ड बक्सबाट हेडमार्फत बललाई जाली चुमाए । 

    images

    गोल बेहोरेपछि आक्रामक बनेको थ्री स्टारका रितिकले गोल गर्दै टोलीलाई बराबरीमा फर्काएका थिए । सन्जोग राईको ७१औं मिनेटमा क्रसमा घनेफो रोमहले ब्याक पास मिलाउँदा बक्स बाहिरबाट रिततकले गरेको प्रहार बारमा लाग्दै गोल भएको थियो । 

    त्यसअघि ३३औं मिनेटमा हेमन्त थापामगरले बायाँतर्फबाट गरेको क्रसलाई सन्जोग राईले फितलो प्रहार गोलकिपर अशोक बरालले बचाए ।  ४०औं मिनेटमा मनाङका अफिज ओलावालले गोलको अग्रताको सुन्दर मौका खेर फाले । पूजन उपरकोटीको लङ पासमा ओलावालेले बक्सभित्रबाट थ्री स्टारका गोलकिपर एक्लै रहँदा गरेको प्रहार सेकेन्ड बारको नजिकैबाट बाहिरियो । 

    ४९औं मिनेटमा मनाङका प्रवेश कुवरले गरेको क्रसमा ओलावालेको वान टच प्रहार पोस्टमाथिबाट बाहिरियो । नवौं चरणमा संकटाको अपराजित यात्रामा पूर्णविराम लगाउँदै थ्री स्टार शीर्ष चारमा उक्लिएको थियो । मनाङ भने नवप्रवेशी सातदोबाटो यूथ क्लबसँग २-१ ले स्तब्ध बनेको थियो । शनिबारनै भएको खेलमा सातदोबाटो र मछिन्द्र विजयी भए । 

    उक्त बराबरीसँगै लिगमा १० खेलबाट २० अंक जोडेको मनाङ दोस्रो स्थानमा यथावत् छ । यस्तै समान खेलबाट १७ अंक जोडेको थ्री स्टार चौथो स्थानमा छ । तालिकाको शीर्ष स्थानमा आसीन मछिन्द्रले १० खेलबाट २६ अंक जोडेको छ ।