फागुन ५ काठमाडौं । राष्ट्रिय महिला लिग २०७८ को दोस्रो चरणको खेल विराटनगरमा हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार बिहीबार एन्फा र विराटनगर महानगरपालिकाबीच सम्झौता भएको हो ।
सम्झौतामा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार विराटनगर महानगरपालिकाले प्रतियोगिताको उत्कृष्ट पाँच टोली र प्लेयर अफ दि म्याचलाई कुल ४५ लाख रुपैयाँ पुरस्कार दिनेछ ।
खेल विराटनगरको साहित्य रंगशालामा हुनेछ । एन्फा र भरतपुर महानगरपालिकाबीचको सम्झौतापछि प्रतियोगिताको पहिलो चरणका खेलहरू चितवनमा हुनेछन् । पहिलो चरणका खेलहरु फागुन १० गतेबाट सुरु हुनेछ । लिगका ५६ मध्ये २८ खेल चितवनमा हुनेछ । खेलहरु भरतपुर ७ स्थित कृष्णपुर खेल मैदान र भरतपुर १९ को खेल मैदानमा हुनेछ ।
यस पटक महिला लिगमा तीन बिभागीय टोलीहरु नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी क्लब र शशस्त्र प्रहरी बल (एपीएफ) सहित, वालिङ, बिराटनगर, चपुर, धनगढी र ललितपुर भिड्नेछन् । यस अघि पहिलो संस्करणको महिला लिग काठमाडौंमा भएको थियो ।


