फागुन ५ काठमाडौं । कतार एरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत ११औं चरणको खेलमा संकटा क्लब न्युरोड टिम (एनआरटी) सँग १-० ले स्तब्ध बनेको छ ।
बिहिवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको २८औं मिनेटमा स्टेफेन विनोङले गरेको गोल नै एनआरटीको जितमा निर्णायक बन्यो ।
सरोज तामाङले दिएको लामो क्रसलाई विनोङले उत्कृष्ट कन्ट्रोलसहित संकटाका दुई डिफेन्डरलाई पन्छाउँदै गोल गरेका थिए । त्यसपछि बाँकी समय थप गोल नहुँदा एनआरीटी विजयी भयो ।
उक्त जितसँगै ११ खेलबाट १७ अंक जोडेको एनआरटी तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । एनआरटीले ४ खेलमा जित, ५ खेलमा बराबरी र दुईमा पराजयको नतिजा आत्मसाथ गरेको छ ।
यस्तै, समान खेलबाट १५ अंक जोडेको संकटा भने तालिकाको छैटौं स्थानमा झरेको छ । संकटाले तीनमा जित, ६ मा बराबरी र दुईमा हारको नतिजा निकालेका छ ।
आजनै दशरथ रंगशालामा भएको खेलमा विभागीय टोली एपीएफले मनाङ मर्स्याङ्दी क्लबलाई ३-१ अन्तरले पराजित गर्दै रेलिगेसन डर अन्त्य गरेको छ ।


