एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटी पराजित भएको छ । शनिबार राति भएको खेलमा ह्यारी केनको दुई गोलप्रेरित टोटनहमले म्यानचेस्टर सिटीलाई रोमाञ्चक खेलमा ३-२ ले निराश पारेको छ ।
शीर्ष स्थाको सिटी निराश हुँदा लिभरपुलले भने नर्विच सिटीलाई ३-१ अन्तरले हराउँदै पेप ग्वार्डिओलाको टोलीसँगको दूरी सात अंकमा झारेको हो । सिटी भन्दा लिभरपुलले एक खेल कम खेलेको छ ।
चौथो मिनेटमा डेजान कुलुभ्सिकीको गोलमा टोटनहमले अग्रता लिएको थियो । ३३औं मिनेटमा एल्के गुन्डोगानको गोलमा सिटी खेलमा फर्किएको थियो । ५९औं मिनेटमा केनले पुनः टोटनहमलाई अग्रता दिलाएका थिए । ७४औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्र्दै टोटनहमको अग्रता ३१ मा पुर्याए पनि भिडियो सहायक रेफ्री भिएआरले सो गोललाई मान्यता दिएन ।
इन्जुरी समयको दोस्रो मिनेटमा रियाद महारेजले पेनाल्टीको सदुपयोग गर्दा सिटीले टोटहमसँग अंक बाँड्ने संकेत गरेको थियो । तर त्यसको तीन मिनेटपछि नै केनले गोल गर्दै सिटीको सो लक्ष्यमा पूर्णविराम लगाइ दिएका थिए ।
अक्टोबरमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएपछि सिटीको प्रिमियर लिगमा यो पहिलो हार हो । जारी सिजन सिटी २६ खेलमा ६३ अंकसहित शीर्ष स्थानमा यथावत छ । जुन दोस्रो स्थानको लिभरपुल भन्दा ६ अंक बढी हो । तेस्रो स्थानको चेल्सीको ५० र चौथो स्थानको म्यानचेस्टर यनाइटेडको ४३ अंक रहेको छ ।
सिटीसँगको अंक दुरी कम गर्ने क्रममा लिभरपुलले नर्विच सिटीलाई ३-१ ले हराएको हो । रातिका अन्य खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १-०, आर्सनलले ब्रेन्टफोर्डलाई २-१, वाटफोर्डले एस्टन भिल्लालाई १-०, बर्नलीले ब्राइटनलाई ३-१, साउथह्याम्पटनले एभार्टनलाई २-० ले पराजित गर्यो ।


