फागुन ११ काठमाडौं । कुनै समय नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीमा मात्रै नभई मोफसलकै सफल क्लबको कप्तान सम्हालेका कप्तानद्वय अनिल गुरुङ र विराज महर्जनको टिमले अब ‘बी’ डिभिजन लिग खेल्ने भएका छन् ।
जारी सिजनको कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा अनिलले नेतृत्व गरेको टिम ब्रिगेड ब्वाइज र विराजको नेतृत्वमा रहेको च्याल युथ क्लब रेलिगेनमा परेसँगै उनीहरूले ‘बी’ डिभिजन लिग खेल्ने पक्का भएको हो ।
लिगअन्तर्गत सोमबार सातदोबाटो युथ क्लबसँग ३-२ गोलले पराजित भएसँगै ब्रिगेड रेलिगेसनमा परेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा सातदोबाटोलाई जितउन सुशील राई, दीपकराज सिंह ठकुरी र निरज चौधरीले १/१ गोल गरे । ब्रिगेडका बेर्टरान्ड इबोडे ओट्टोउ र रोशन राना मगरले १/१ गोल गरे ।
उक्त हारसँगै ब्रिगेड रेलिगेसनमा परेको हो । १३औं स्थानको उसले १२ खेलमा सात अङ्कमात्र रहेको छ । क्लब इतिहासमा ब्रिगेड ब्वाइज रेलिगेसनमा परेको यो तेस्रो पल्ट हो । यसअगाडि ब्रिगेड ब्वाइज ०६३ र ०६८ मा पनि रेलिगेसनमा परेको थियो । ब्रिगेड यस सिजन रेलिगेसनमा पर्ने दोस्रो टोली हो ।

२०६१ सालमा पहिलो पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग मार्फत शीर्ष डिभिजनमा डेब्यू गरेको बीबीसी पछिल्लो सिजन पनि रेलिगेसनबाट अन्तिम समयमा उम्किएको थियो । डेब्युपछि हालसम्म ७ सिजन खेल्दा बीबीसीले पहिलो र दोस्रो सिजन हासिल गरेको ९औं स्थान नै उत्कृष्ट नतिजा रह्यो ।
बीबीसीले डेब्यु गरेको सिजन शीर्ष डिभिजनको लिगमा १३ टोली सहभागी थिए । पहिलो सिजन खेलेका १२ खेलमा २ जित, ५ बराबरी र ५ पराजय निकालेको बीबीसीले ९ स्थानमा रहेर सिजन सकाएको थियो ।
त्यसपछि, २०६२ सालमा भएको लिगमा २८ खेलबाट १० जित, २ बराबरी र १६ हारसहित ९ स्थानमै रहेर सिजन सकाएको थियो । २०६३ सालमा २६ खेलमा २ जित, ४ बराबरी र २० हारसहित २० अंक जोडेको बीबीसी १४औं स्थानमा रहेर रेलिगेसनमा परेको थियो ।
२०६३ सालमा घटुवा भएपछि २०६८ सालमा फेरि शीर्ष डिभिजन खेलेको बीबीसी त्यही सिजन पुनः रेलिगेसनमा पर्यो । २०६८ सालको लिगमा खेलका १७ खेलबाट २ जित, ४ बराबरी र ७ हारसहित ९ अंक जोड्दा बीबीसी रेलिगेसनमा परेको थियो ।
२०७५ सालमा फेरि शीर्ष डिभिजन खेलेको बीबीसी १३ खेलबाट २ जित, ४ बराबरी र ७ हारसहित १० अंक जोडेर १२औं स्थानमा रहँदै लिग सकाएको थियो । त्यो सिजन १४ टोलीले लिगमा प्रतिस्पर्धा गरेका थिए भने रेलिगेसन भएको थिएन ।
२०७६ सालमा भएको लिगको १३ खेलमा २ जित, ३ बराबरी र ८ पराजयसहित ९ अंक जोडेर १३औं स्थानमा रहँदा पुछारमा सीमित एक मात्र सरस्वती युवा क्लब रेलिगेसनमा परेको थियो ।
यो सिजनका १२ खेलबाट १ जित, ४ बराबरी र ७ हारसहित ७ अंकमा सीमित बीसीसी १ खेल अगावै रेलिगेसनमा परेको छ । शीर्ष डिभिजनमा डेब्युट्यान्ट सातदोबाटो १२ खेलबाट सोमबारको जितसँगै १८ अंक जोडेर अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।
बीबीसीसँगै यस सिजनमा च्यासल युथ क्लब पुछारमा रहँदै रेलिगेसनमा परेका छ । च्यासल र बीबीसी दोस्रो डिभिजनमा घटुवा भएसँगै यस सिजन हुने बी डिभिजन लिगबाट दुई टोली शीर्ष डिभिजनमा बढुवा हुनेछन् । जारी लिगको २ खेलअघि नै शीर्षस्थानमा रहँदै मछिन्द्र फुटबल क्लब लगातार च्याम्पियन भएको थियो ।
यता च्यासल भने गत शनिबार भएको खेलमा फ्रेड्ण्ससँग २-१ गोलले पराजित हुँदैं रेलिगेसनमा परेको थियो । उक्त खेलमा फ्रेड्ण्सको जितमा एन्थोनी फ्रान्कोइसले २ गोल गरे भने च्यासलका लागि मोउसा अवगानाले १ गोल गरेका थिए । उक्त जितसँगै फ्रेण्ड्स १० अंक जोड्दै १२औं स्थानमा छ ।
ललितपुरको च्यासल युथ क्लब २०३७ मा स्थापित भएको थियो । च्यासल २०६४ मा ‘सी’ डिभिजन छनोट खेल्दै २०६५ मा ‘सी’ डिभिजनमा बढुवा भएको थियो । २०६६ मा ‘सी’ डिभिजन लिगको उपविजेताको रुपमा च्यासलले ‘बी’ डिभिजनमा बढुवा भएको थियो ।

२०७२ मा ‘बी’ डिभिजन च्याम्पियन बन्दै शीर्ष डिभिजन ‘ए’ मा बढुवा भएको थियो । त्यसपछि २०७४ मा लिग नहुँदा च्यासलले २०७५ मा मात्र शीर्ष डिभिजन खेलेको थियो । च्यासलले यो सहित २०७५ को रेलिगेसनविनाको र २०७६ को लिग खेल्यो ।
दुवै सिजन मध्यम टोलीको छवि बनाएको च्यासल यसपटक रेलिगेसनमा पर्न बाध्य भयो । च्यासलले जारी लिगको १२ खेलमा १ जित, ३ बराबरी र ८ हार आत्मसाथ गरेको थियो । च्यासलले अब लिगको अन्तिम खेलमा सातदोबाटोसँग खेल्नेछ ।


