एजेन्सी । इटालीयन सिरी ए फुटबल क्लब युभेन्ट्सले कोपा इटालिया सेमिफाइनलको पहिलो लेगमा फियोरेन्टिनामाथि १-० गोलको कठिन जित निकालेको छ ।
खेल बराबरतर्फ धकेलिएको अबस्थामा लोरेन्जो भिनुटीले आफ्नै पोस्टमा गोल गरेपछि युभेन्ट्सले अग्रता बनाएको हो ।
खेलमा घरेलु टोलीले युभेन्ट्सलाई दवावमा राखे पनि गोल भने गर्न सकेन । उक्त जितसँगै युभेन्ट्सले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
दोस्रो लेगमा यही नतिजा कायम राख्न सके युभेन्ट्स फाइनल पुग्नेछ । दोस्रो लेग युभेन्ट्सको मैदानमा २० अप्रिलमा हुनेछ ।
यस्तै मंगलबार राति मिलान डर्वीमा एसी मिलान र इन्टर मिलानले पनि सेमिफाइनलको पहिलो लेगमा गोलरहीत बराबरी खेलेका थिए । यी दुईबीचको दोस्रो लेगको खेल पनि २० अप्रिलमै हुनेछ ।


