फागुन २० धनगढी । ए डिभिजन लिग फुटबल क्लब न्युरोड टिम एनआरटी खप्तड गोल्डकपको पहिलो खेलबाट नै बाहिरीएको छ । शुक्रबार धनगढी रंगशालामा भएको खेलमा बागमती युवा क्लबले टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्न सफल भयो ।
खेलमा बागमती युवा क्लवले २ गोलले पछि परेको अवस्थामा खेल उल्ट्याएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरी हुँदा ६८औं मिनेटमा मेसौकेको क्रसमा स्टेफेनले डिबक्समा खाली रहेको अवस्थामा हेडर गोल गर्न सफल भए ।
त्यसोत खेलमा एनआरटीले निकै दबाव दिएको थियो । तर खेलको अन्तिममा रोजित केसीको प्रशिक्षणमा रहेको बागमती युवा क्लवले सानदार प्रदर्शन गर्न सफल भयो । ७३औं मिनेटमा एनआरटीले पेनाल्टी पायो । उसका दिपेश घलेलाई अभि लामाले डिबक्समा फल गरेपछि पाएको पेनाल्टीमा स्टेफेनले नै गोल गर्दै टोलीलाई २-० गोलले अगाडी राखे ।
८३औं मिनेटमा बागमतीले गोल फर्काउन सफल भयो । विजय घलानको क्रसमा बिमल घिसिङले गोल गर्न सफल भए ।
त्यसको अर्को मिनेटमा बागमतीले खेल २/२ गोलको बराबरी गर्न सफल भयो । उसका लागि कप्तान बिजय घलानले उत्कृष्ट फिनिस गरे । उनले बिमलको क्रसको सदुपयोग गरेका थिए ।
टाइब्रेकरमा बागमतीका अमोल श्रेष्ठ, बिजय घलान, इमान घलान, अनिल रानामगरले गोल गरे भने सुमन चाम्लिङ राईको प्रहार बारमा लागेर फर्कियो । एनआरटीका शिब गुरुङ, दिपेश घले, मेसुके ओलोमोउले गोल गरे भने बिकको प्रहार पोष्ट बाहिर रह्यो भने सञ्जित विष्टको प्रहारलाई बागमतीका गोलकिपरले बचाए । जसका कारण एनआरटी पहिलो खेलबाट नै प्रतियोगिताबाट बाहिरीयो । अब बागमतीले क्वाटरफाइनलमा लिग च्याम्पियन मच्छिन्द्र क्लवसँग खेल्नेछ ।


