फागुन २३ धनगढी । पाँचौं मुख्यमन्त्री अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकप २०७८ अन्तर्गत आज (सोमबार) पनि एक खेल हुँदैछ ।
धनगढी रंगशालामा हुने खेलमा आयोजक सुदूरपश्चिम-११ ले ए डिभिजन लिग फुटबल क्लब हिमालय शेर्पाको सामना गर्दैछ । उक्त खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ ।
साविकको विजेता समेत रहेको सुदूरपश्चिम एघार उक्त खेलमा सहज जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्ने योजनामा रहेको छ । यस्तो खेल अघि पत्रकारसँग कुरा गर्दै सुदूरपश्चिमका कप्तान गजेन्द्र शाहीले भने `हाम्रो होम ग्राउन्ड पनि हो, हामीले करिब एक महिना देखि ट्रेनिङ गरिरहेका छौं हाम्रो खेलमा निकै सुधारिएको छ, कैलाली धनगढीका खेलाडीहरु ए डिभिजन लिग खेलिसकेका छन् ।
उनले थपे शेर्पा ए डिभिजन लिग खेलेको क्लब हो , तुलनात्मक रुपमा हामी भन्दा बलियो भएता पनि हामी घरेलु मैदानमा घरेलु दर्शक सामू जितका लागि खेल्ने छौं , यो खेल हाम्रो लागि निकै महत्त्वपूर्ण छ , यस खेलमा जित निकाल्दै हामी उपाधि रक्षा गर्ने योजनामा छौं ।
उक्त खेलको विजेता टोलीले नेपाल आयल निगम मनाङ मर्स्याङदी फुटबल क्लबसँग फाइनल प्रवेशको लागि खेल्नेछ ।
कुल १० टोली सहभागी रहेको यस प्रतियोगिताको विजेता नगद २१ लाख प्राप्त गर्नेछ । भने उपविजेता नगद १० लाख प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टोलीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।


