फागुन २३ काठमाडौं । अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा श्रीलंका नेभीलाई १११ रनले पराजित गरेको छ । सोमबार नेपालले दिएको २१५ रनको लक्ष्य पछ्याएको नेभी २८ ओभर ५ बलमा १०३ रनमै समेटियो ।
श्रीलंका नेभीका एम मदुसंकाले सर्वाधिक ३९ रन बनाए । यसबाहेक, एस सन्जिवाले १५ र डी मदुसनले १४ रन जोडे ।
नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । उनले ७.५ ओभरमा एक मेडनसहित १८ रन खर्चिए । यसबाहेक ज्ञानेन्द्र मल्ल र विक्रम सोबले दुई दुई विकेट लिदा कमलसिंह ऐरी, करण केसी र सागर ढकालले समान एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ३७ ओभर १ बलमा सबै विकेट गुमाउनुअघि २१४ रनको योगफल खडा गरेको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रन जोड्दा ओपनर आसिफ शेखले ३६ रन जोडेका थिए ।
नेपालले मार्च ७ देखि ११ मार्चसम्म श्रीलंकामा अभ्यास खेल खेल्नेछ । नेपाली क्रिकेट टिम आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न १४ मार्चमा श्रीलंकाबाट सिँधै संयुक्त अरब इमिरेट्स (युएई) जानेछ ।


