सुजन थापा / फागुन २४ धनगढी । पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रित मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको अन्तिम क्वार्टरफाइनलमा लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई हराउँदै सर्लाहीको बागमती युवा क्लब पहिलोपटक सेमिफाइनलमा प्रवेश गर्यो ।
धनगढी रंगशालामा मंगलबार दिउँसो सम्पन्न खेलमा मछिन्द्रलाई बागमतीले पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले स्तब्ध पारेको थियो ।
यस्तै सेमिफाइनलमा प्रवेश गरेपछि पत्रकारसँग कुरा गर्दै बागमती युवा क्लबका मुख्य प्रशिक्षक रोजित केसीले खुसी ब्यक्त गरेका छन् । उनले भने, 'हामी आजको जितमा निकै खुसी छौं, हामीले पहिला पनि लिगमा दोस्रो स्थानमा रहेको एनआरटी हराएका थियौं । आज लिग च्याम्पियन मछिन्द्रलाई हराउन सफल भयौं, हाम्रो एउटा जिल्लाको मोफसल टिमले पनि लिग च्याम्पियन टिमलाई हराउन सक्ने रहेछ भन्ने सबैको मनोबल बढ्ने भयो, मोफसलको टिमलाई पनि हेर्नु पर्छ भने सबै ध्यान जाने भयो , अहिले खेलको हिसाब हेर्ने हो भने हाम्रो टिम ए डिभिजन लिग खेल्ने लायकको भइसकेको छ । तर पनि हामी यी खेलाडीहरुको लागि सि क्वालीफाएरको लागिको लागि हामीले नियमित प्रशिक्षण गराइरहेका छौं यो सबै खेलाडीहरुको मिहेनतको फल हो । यो जित सबै खेलाडीको श्रेयमा जान्छ, खेलाडी अघिल्लो खेलमा लिगको तेस्रो स्थानमा रहेको टोलीलाई हराए पछि हामी किन ? लिग च्याम्पियन हुने टोली हराउन नसक्ने हो र भन्ने भावना पैदा भएको थियो । र त्यहि जोस र उच्च मनोबलको साथ आज यो नतिजा निकाल्न सफल भयौं । आजको खेलमा हाम्रो मुख्य योजना पेनाल्टीमा लाने थियो । सो हामी सफल भयौं र नतिजा हाम्रो पक्षमा पार्न सफल पनि भयौं अब हामी सेमिफाइनलमा ए डिभिजन लिग क्लब फ्रेण्ड्ससँग खेल्दै छौं, हामी त्यहि अनुसारको रणनीति बनाए मैदान उत्रिने छौं ।'
उक्त जितसँगै बागमतीले अब सेमिफाइनलमा फ्रेण्ड्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । गत १९ गतेबाट सुरु भएको यस प्रतियोगितामा कुल १० टोली सहभागी छन् । विजेताले नगद २१ लाख प्राप्त गर्नेछ । भने उपविजेता नगद १० लाख प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टोलीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।


