फागुन २५ धनगढी । पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रित मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप नकआउटका फुटबल प्रतियोगिता २०७८ अन्तर्गत आज बाट सेमिफाइनलका खेलहरु सुरु हुँदैछ ।
धनगढी रंगशालामा बुधबार हुने खेलमा नेपाल आयल निगम मनाङ मर्स्याङदीले हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल दिनको ४ बजेबाट सुरु हुनेछ ।
आजको खेलमा शेर्पालाई हराउँदै मनाङ मोफसलको पहिलो उपाधि नजिक पुग्न चाहन्छ । यता शेर्पा पनि फाइनल प्रवेशको दाउमा रहेको छ ।
यसअघि मनाङले भारतको दिल्ली तथा शेपाले आयोजक टोली सुदूरपश्चिम ११ लाई हराएको थियो । आजको खेलको विजेता टोलीले उपाधिका लागि सर्लाहीको बागमती युवा क्लब र ललितपुरको फ्रेण्ड्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
गत १९ गतेबाट सुरु भएको यस प्रतियोगितामा कुल १० टोलीको सहभागी रहेको थियो । मोफसलकै सर्वाधिक ठूलो धनराशि रहेको प्रतियोगिताको विजेताले नगद २१ लाख प्राप्त गर्नेछ । भने उपविजेता नगद १० लाख प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टोलीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।


