फागुन २६ धनगढी । ललितपुरको फ्रेण्ड्स क्लब मुख्यमन्त्री खप्तड गोल्डकप २०७८ को फाइनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशाला बिहिवार भएको अन्तिम सेमिफाइनलमा बागमती युवा क्लब सर्लाहीलाई २-१ गोल अन्तरले हराउँदै फ्रेण्ड्सले फाइनलमा स्थान बनाउन सफल भएको हो ।
निकै रोमाञ्चक धनेको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । लिग च्याम्पियन मच्छिन्द्र, एनआरटी जस्ता टोलीलाई हराएर सेमिफाइनलमा पुगेको बागमती युवा क्लव फ्रेण्ड्ससँग पराजित भयो ।
खेलको ६४औं मिनेटमा फ्रेण्ड्सले खेलमा अग्रता बनायो । उसका लागि विदेशी खेलाडी जमोउल फ्रान्स्वाले गोल गर्न सफल भए । ७१औं मिनेटमा फ्रेण्ड्सले अन्तर २-० पुर्यायो । उसका लागि फ्रान्स्वाको क्रसमा राजिव लोप्चाङले गोल गरे ।
दुई गोलले पछि परेको बागमतीले ८३औं मिनेटमा गोल फर्काउदै अन्तर २-१ पुर्यायो । उसका लागि निकोलस फर्नान्डेसको क्रसमा ड्याडी वाम्बा जुनियरले गोल गर्न सफल भए ।
उक्त जितसँगै फ्रेणड्सले उपाधिका लागि शनिबार नेपाल आयल निगम मनाङ मस्र्याङदी क्लवसँग खेल्नेछ । मनाङले पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई टाइब्रेकरमा हराउँदै फाइनलमा पुगेको हो ।


