चैत ४ काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिगअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) मा जारी त्रिकोणात्मक शृंखलामा नेपाल घरेलु टोलीसँग ४८ रनले पराजित भएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एक सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा एक सय २० रनमै समेटियो ।
युएईविरुद्ध पनि नेपालको ब्याटिङ चलेन । नेपालका रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । यसबाहेक ज्ञानेन्द्र मल्लले २८ र कुशल भुर्तेलले ११ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपाललाई सस्तोमा समेट्न युएईका बसिल हमेदले सर्वाधिक चार विकेट लिए । पाँच ओभर बलिङ गरेका हमेदले एक मेडन राख्दै १५ रन खर्चिए ।
यस्तै, जुनैद सिद्धिकीले दुई विकेट लिँदा जहुर खान र रोहन मुस्तफाको नाममा एक एक विकेट रह्यो । यसअघि टस जितेर ब्याटिङमा आएको युएईले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६८ रनको योगफल तयार गरेको थियो ।


