आइतबार, भाद्र २८ गते २०८३
images

१८औँ एनएसजेएफ-पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा

एक्सप्रेस पाना
चैत्र ७, २०७८ सोमबार
  • 366
    SHARES
  • १८औँ एनएसजेएफ-पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा

    चैत ७ काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा भएको छ । मंगलबार कमलादीस्थित प्रज्ञा भवनको हलमा आयोजना हुने १८ औं संस्करणको स्पोर्ट्स अवार्डको सम्पूर्ण तयारी पूरा भएको एनएसजेएफका अध्यक्ष एवं अवार्ड आयोजक मूल समारोह समितिका संयोजक दुर्गानाथ सुवेदी (देवेन्द्र) ले जानकारी दिए । 

    images

    २५ भदाै २०५२ मा स्थापना भएको एनएसजेएफले २०५३ देखि अवार्ड कार्यक्रम सुरु गर्दै आएको हो । कोरोनाभाइरसको महामारीका कारण निर्धारित समयभन्दा केही ढिला हुन लागेको अवार्डलाई मञ्चले यसपटक ‘दशक अवार्ड’ को रूपमा आयोजना गर्न लागेको छ ।
     
    अवार्ड कार्यक्रम अपरान्ह ३ः०० बजे सुरु हुनेछ । कार्यक्रममा चर्चित कलाकारको प्रस्तुतिसँगै प्रविधिको उच्च प्रयोग गरेर आकर्षक प्रस्तुति रहने सुवेदीले जानकारी दिए । अवार्ड कार्यक्रम नेपालका प्रमुख टेलिभिजन च्यानलहरू एनटीभी प्लस एचडी, एनटीभी न्युज एचडी, एक्सन स्पोर्टस एचडी, इमेज च्यानल एचडीबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
     
    यसका साथै एनएसजेएफको युट्युब च्यानल, फेसबुक पेज र खेलकुदका अनलाइन च्यानलबाट पनि प्रत्यक्ष प्रशारण गरिनेछ । पल्सर स्पोर्ट्स अवार्डको यस संस्करणमा विभिन्न नौं विधामा प्रदान गरिनेछ । कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले मञ्चले पछिल्लो एक दशक नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी र प्रशिक्षकलाई खेलमा उनीहरूको उपलब्धिका आधारमा अवार्ड प्रदान गरिनेछ ।
     
    अवार्डका लागि पिपल्स च्वाइस विधाको भोटिङ पनि साेमबार सकिँदै छ । यसपालि पिपल्स च्वाइसका लागि फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबल टेनिसकी एलिना महर्जन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल प्रतिस्पर्धामा छन् । उनीहरूका लागि समर्थकले विद्युतीय भुक्तानी माध्यम ई-सेवामार्फत गरिने मतदान सोमबार राति १२ बजे सकिँदै छ ।

    पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ–टाइम एचिभमेन्ट, टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मानको घोषणा मंगलबारनै गरिनेछ ।

    images

    कार्यक्रममा सहभागी हुन एआईपीएस एसियाका महासचिव अमजद अजिज मलिक काठमाडौं आइसकेका छन् ।  
     
    यसवर्ष पनि वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
     
    पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी रहेको छ । अवार्डलाई सूर्य नेपाल प्रालि, ई-सेवा, डिस मिडिया नेटवर्क, केल्मी नेपाल, प्लाजा होटल ग्रुप, रोयल सिंगी, ए सिक्स सुज, होटल, इमेजिङ, नबिल इन्भेस्टमेन्ट बैंकिङ, रुस्लान लगायतले सहप्रायोजन गरेका छन् ।