एजेन्सी । युरोपेली राष्ट्र पोर्चुगलले यसै वर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकपको प्ले आफ छनोट अन्तर्गत टर्कीसँग खेल्दै छ । पोर्चुगल र टर्कीबीचको खेल नेपाली समयअनुसार राति १ः३० बजे खेल्दै छ ।
पोर्चुगलको घरेलु मैदान पोर्टोमा हुने यो खेल घरेलु टोलीका लागि निकै महत्त्वपूर्ण छ । यस खेलको विजेताले प्लेअफ फाइनलमा स्थान बनाउने छ । पराजित हुने टोलीको भने विश्वकप खेल्ने सम्भावना समाप्त हुने छ ।
घरेलु टोली पोर्चुगल टर्कीमाथि सहज जित निकाल्दै विश्वकपमा छनोट हुन युरो कप च्याम्पियन टोली इटाली वा नर्थ म्याकाडोनियासँग खेल्ने योजनामा हुनेछ । यस्तै अर्को सेमिफाइनलमा आज नै इटाली र नर्थ म्याकाडोनियाले प्रतिस्पर्धा गर्दै छन् ।
यस खेलमा पोर्चुगल समस्यामा देखिएको छ । पोर्चुगलका पहिलो रोजाइका खेलाडीद्वय रुबेन डियाज र पेपे हुने छैनन् । डियाज चोटका कारण राष्ट्रिय टिममा नहुँदा पेपे कोभिड सङ्क्रमणका कारण हुने छैनन् । यसैले पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्टोसले यु–२१ का खेलाडी टियागो डाजेलोलाई सिनियर टिममा राखेका छन् ।
यस्तै, जाओ क्यान्सेलो र रेनाटो सान्चेसले प्रतिबन्धका कारण टर्कीसँगको खेल गुमाउनेछन् । अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डो टोलीको कप्तानी गर्नेछन् । रोनाल्डोले म्यानेस्टर युनाइटेडका लागि सबै प्रतियोगिता गरी यो सिजन ३२ खेलमा १८ गोल गरेका छन् ।
प्रशिक्षक सान्टोसले रोनाल्डोबाहेक डिएगो जोटा र जाओ फेलिक्सलाई टोलीमा राखेका छन् । त्यसबाहेक बर्नान्डो सिल्भा, ब्रुनो फर्नान्डेस र नुनो मेन्डेसले पनि अहम भूमिका खेल्ने अपेक्षा गरिएको छ । रुबेन नेभ्स र गोलकिपर एन्थोनी लोप्स भने अनुपस्थित हुने छन् । यस खेलमा कप्तान रोनाल्डो पुरुषतर्फ अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको दूरी बढाउने योजनामा हुनेछन् । उनले एक सय ८४ खेलमा एक सय १५ गोल गरेका छन् ।


