एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विश्व महारथी राष्ट्रहरु जर्मनी र स्पेनले सहज जित निकालेका छन् ।
शनिबार राति भएको खेलमा जर्मनीले इजरायललाई २-० गोल अन्तरले हरायो । जर्मनीको जितमा काइ हार्भट्ज र टिमो वेर्नेरले समान १/१ गोल गरे ।
खेलको २६औं मिनेटमा हार्भट्जले जर्मनीलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा वेर्नेरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा दुबै टोलीले पेनाल्टी सदुपयोग गर्न सकेनन् ।
यस्तै अर्को खेलमा स्पेनले अल्बानियालाई २-१ अन्तरले हरायो । स्पेनको जितमा फेरान टोरेस र डेनिल आल्मोले १/१ गोल गरे । अल्बानियाका मेर्टो उजुनीले १ गोल फर्काए ।
खेलको ७५औं मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ८५औं मिनेटमा उजुनीले गोल गर्दै खेल १-१ को स्थितिमा पुर्याए । त्यसपछि खेलको ९०औं मिनेटमा आल्मोले गोल गर्दै स्पेनलाई २-१ को जित दिलाए ।


