चैत १४ काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डिन्सलाई ४ विकेटले पराजित गरेको छ । भने दोस्रो खेलमा किंग्स इलाभेन पञ्जावले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गरेको छ ।
घरेलु रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको दिल्लीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
दिल्लीको जितमा ललित यादव र अक्षर पटेलले ७५ रनको महत्त्वपूर्ण साझेदारी गरे । दिल्लीका लागि ३८ बल सामना गरेका ललितले ४ चौका र २ छक्का प्रहार गर्दै अविजित ४८ रन जोडेका थिए ।
अक्षर पटेलले १७ बलमा २ चौका र ३ छक्कासहित अविजित ३८ रनको आक्रामक इनिङ खेले । त्यसअघि पृथ्वी सह ३८, टिम सेफर्ट २१ र शार्दूल ठाकुर २२ रन बनाएर पेभेलियन फर्केका थिए ।
मुम्बईका लागि बसिल ताम्पीले ३, मुरुगान आस्विनले २ र टाइमाल मिल्सले १ विकेट लिए । पहिलो इनिङमा ब्याटिङ गरेको मुम्बईका लागि ईशान किशनले ४८ बलमा ११ चौका र २ छक्कासहित ८१ रनको अविजित इनिङ खेलेका थिए । त्यसअघि कप्तान रोहित शर्माले ४१ रन बनाएर बाहिरिएका थिए । दिल्लीका लागि खलिल अहमदले २ तथा कुलदिप यादवले ३ विकेट लिएका थिए ।
यस्तै अर्को खेलमा २०६ रनको विशाल विजयी लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
पञ्जावको जितमा विकेटकिपर भानुका राजपक्षेले आक्रमक ब्याटिङ गर्दै ४३ रनको इनिङ खेले । ओडेन स्मिथ २५, शाहरुख खान २४ रनको योगदान गरे । बेंगलोरका मोहम्मद शिराजले २ विकेट लिए । अक्षदीप, वानिन्दु हसरंगा र हर्षल पटेलले १/१ विकेट लिए ।
यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०५ रन बनायो ।


