चैत २५ काठमाडौं । नेपाली राष्ट्रिय फुटसल टोली कीर्गिस्तानको साविक विजेता फरवाटर एफसीसँग पराजित भएको छ । कीर्गिस्तानस्थित बिस्केक मेडिकल युनिभर्सिटीमा सम्पन्न खेलमा नेपाली टोली २-० गोल अन्तरले पराजित भएको हो।
खेलको २०औं मिनेटमा कीर्गिस्तानी टोलीले अग्रता बनाएको थियो । पहिलो हाफमा एक गोलले पछि रहेको नेपालले दोस्रो हाफको खेलमा दबाब बनाए पनि तीनवटा प्रहार गोलपोस्टमा ठोक्किएर बाहिरिएका थिए ।
त्यसअघि नेपाली टोलीका आदिल अहमदले कर्नरबाट पाएको बललाई पोस्टको दिशा दिँदै गोल गरे पनि त्यसलाई रेफ्रीले उक्त गोललाई मान्यता दिएनन्।
फरवाटर टिमका प्रशिक्षक गफुरोभ रुस्लानले दुबै टोलीले राम्रो खेलको भए पनि आजको खेलमा आफूहरू भाग्यमानी रहेको बताए । ‘दुबै टोली राम्रा र उस्तै स्तरका थिए। तर, आजको खेलमा हामी भाग्यमानी ठहर्यौं । अन्य टोलीका लागि नेपाल राम्रो प्रतिस्पर्धी हुन सक्छ,’ उनले भने।
त्यस्तै नेपाली टोलीका प्रशिक्षक गौरव बस्नेतले मैत्रीपूर्ण खेलमा सुधार भएको बताए। ‘अघिल्लो खेलमा भन्दा राम्रो भएको छ। पहिलो हाफमा केही कमजोरी रहे पनि दोस्रो हाफमा राम्रो पकड बनाउन सक्यौं। मौकाहरु धेरै बनाउन सक्यो। १३/१४ वटा टार्गेटमा सट प्रहार गरे पनि फिनिसिङ गर्न नसक्दा पराजय ब्यहोर्यौं,’ उनले भने ।


