एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले सहज जित निकाल्दा एट्लेटिको मड्रिड पराजित भएको छ ।
शनिबार राति रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नबेउमा गेटाफेलाई २-० अन्तरले पराजित गरेकाे हाे । रियलको जितमा क्यासमिरो र लुकास भास्क्वेजले १/१ गोल गरे ।
खेलको ३८औं मिनेटमा क्यासमिरोको गोलबाट रियलले अग्रता बनायो । ६८औं मिनेटमा लुकास भास्क्वेजले गोल गर्दै सहज जित दिलाए ।
उक्त जितसँगै रियलको ३१ खेलबाट ७२ अंक पुगेको छ । दोस्रो स्थानको सेभियाको ६० तथा दुई खेल कम खेलेको बार्सिलोनाको ५७ अंक छ । यता पराजित गेटाफे ३२ अंक जोडेर १४औं स्थानमा रहेको छ ।
अर्को खेलमा एट्लेटिको मलोर्कासँग १-० अन्तरले स्तब्ध भयो । ६८औं मिनेटमा भेडाड मुरिकीले पेनाल्टीमार्फत गरे गरेका थिए । बाकी समय एट्लेटिको खेलमा फर्कने प्रयास गरेपनि सफल भएन ।
उक्त जितसँगै मलोर्का ३१ खेलबाट २९ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि १७औं स्थानमा छ । एट्लेटिको ३१ खेलबाट ५७ अंक जोडेर चौथो स्थानमा रहेको छ । सेभियाको ६० अंक छ ।


