एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब टोटनह्याम हटस्पर युइएफए युरोपा कन्फरेन्स लिगमा पोर्चुगलको पाकोस फरेरासँग पराजित भएको छ । बिहीबार राति भएको खेलमा टोटनह्याम पाकोससँग १–० ले पराजित भएको हो ।
पोर्चुगलमा सम्पन्न भएको खेलमा घरेलु टोली पाकोसका लागि लुकास सिल्भाले निर्णायक बन्यो । पहिलो हाफको अन्तिम मिनेटमा सिल्भाले गोल गर्दै पाकोलाई जित दिलाए ।
अब, दोस्रो लेग अर्को साता टोटनह्यामको घरेलु मैदानमा हुनेछ । दुई लेगको प्लेअफबाट विजयी हुने टोलीले युइएफए युरोपा कन्फरेन्स लिगको समूह चरणमा स्थान बनाउने छ ।
त्यस्तै अर्को प्लेअफको पहिलो लेग अन्तर्गत नै भएको खेलमा इटालियन क्लब रोमाले टर्किस क्लब ट्रावजोनस्पोरलाई २/१ ले हराएको छ ।
रोमालाई जित दिलाउन लोरेन्जो पेल्लिग्रिनी र एल्डोरले एक एक गोल गरे । ट्रावजोनस्पोरका आन्द्रेसले एक गोल फर्काए ।


