जेठ १९ काठमाडौं । ह्विल चेयर क्रिकेट संघको आयोजनामा सञ्चालन हुने टि२० फिजिकल च्यालेन्ज क्रिकेट सिरिजको प्रत्यक्ष प्रशारण हुने भएको छ ।
नेपाल र भारतबीच हुने फिजिकल च्यालेन्ज क्रिकेट सिरिजको ‘अफिसियल ब्रोडकास्टिङ पार्टनर’को रुपमा खेलपाटीसँग सम्झौता भएको हो ।
बिहीबार प्रत्यक्ष प्रशारण सम्बन्धि सम्झौता पत्रमा कखरा पब्लिकेशनका सिइओ हिमबिक्रम केसी र प्रतियोगिताका टेक्निकल हेड रविन्द्र गुप्ताले हस्ताक्षर गरे । सम्झौता अनुसार प्रतियोगिताका सम्पुर्ण खेल खेलपाटीको डिजिटल प्लेटफर्ममा हेर्न सकिनेछ ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता जेठ २७ देखि २९ गतेसम्म सञ्चालन हुदैछ । सम्झौतापछि ह्विल चेयर क्रिकेट संघका अध्यक्ष छुल्टीम शेर्पाले प्रतियोगितालाई भब्य बनाउन बनाउन प्रत्यक्ष प्रशारणले सहयोग पुग्ने बताए । सिरिज अन्तर्गत नेपाल र भारतको टोलीले तीन म्याच मुलपानी क्रिकेट मैदानमा खेल्नेछन् । अपाङ्गता भएका व्यक्तिहरूलाई प्रेरित गर्न, अपाङ्गताको बारेमा मानिसहरूलाई सचेत गराउन र पर्यटन पहुँच प्रवर्द्धन गर्नका लागि यस प्रतियोगिता गर्न लागेको अध्यक्ष शेर्पाले बताए ।



