जेठ २० हेटौंडा । चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप अन्तर्गत चर्च ब्वाइज क्लबले भरतपुर फुटबल क्लबलाई पराजित गरेको छ ।
पिप्ले–क्याम्पा रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा चर्च ब्वाइज क्लबले भरतपुर फुटबल क्लबमाथि ३-० गोलले जित निकालेको हो । दोस्रो खेलमा भरतपुर फुटबल क्लबलाई पन्छाएको चर्च ब्वाइज क्लब प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ ।
चर्च ब्वाइज क्लबका लागि आशिष चौधरीले दुई गोल गरेका हुन् र हेमन्त थापा मगरले १/१ गोल गरेका थिए । खेलको ४८औं मिनेटमा चर्च ब्वाइज क्लबका आशिष चौधरीले आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । वन भर्सेस वनको स्थितीमा गोल गर्दै आशिष चौधरीले टिमलाई अग्रता दिलाएको थियो।
खेलको ६२औं मिनेटमा चर्च ब्वाइज क्लबले अग्रतालाई दोबर बनाएको हो । चर्च ब्वाइज क्लबका हेमन्त थापा मगरले डिबक्स भित्रबाट सानदार गोल गरे ।
चर्च ब्वाइज क्लबले खेलको ७७औं मिनेटमा तेस्रो गोल गरेको थियो । भरतपुर फुटबल क्लबको कमजोर रक्षापंक्तीको फाईदा उठाउदै चर्च ब्वाइज क्लबका आशिष चौधरीले प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।
उक्त जितसँगै चर्च ब्वाइज क्लबले अब क्वाटरफाइनलमा एभेनिर एफसीको सामना गर्नेछ । खेलको म्यान अफ दि म्याच चर्च ब्वाइज क्लबका आशिष चौधरी घोषित भए । उनले नगद १० हजार र ट्रफि प्राप्त गरे ।
प्रतियोगितामा शनिबार फ्रेन्ड्स क्लब र सशस्त्र प्रहरी (एपीएफ) क्लब प्रतिस्पर्धा हुनेछ । पूर्व विजेता नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी (एपीएफ) क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेन्ड्स क्लब, खुमलटार युथ क्लब, नव जनजागती युथ क्लब सिमरा, वाग्मती युथ क्लब सर्लाही, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभेनिर एफसीका १२ टोली सहभागी छन्। आयोजकले विजेतालाई १५ लाख र उपविजेतालाई १० लाख रुपैयाँ प्रदान गर्नेछ ।



