जेठ २२ हेटौंडा । चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप अन्तर्गत एपिएफ फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।एपीएफले फ्रेन्ड्स क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
पिप्ले क्याम्पा रंगशालामा सम्पन्न खेलको २९औं मिनटमा नविन लामाको पेनाल्टी गोलबाट एपिएफले खेलमा अग्रता बनाएको थियो । खेलको ७७औं मिनटमा सबिन गुरुङले बक्स भित्रबाट पोष्टको दाँया कुना च्याप्दै सटिक रुपमा विभागीय टोलीका लागि दोस्रो गोल गरे ।
त्यस्तै खेलको अन्तिमतिर इन्जुरी समयमा रबि थिंगले एपिएफका लागि तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । बक्स नजिकैबाट उनले गरेको प्रहार फ्रेण्डसका गोलरक्षकले बचाउ गर्ने क्रममा बलले गोलपोष्टको जाली चुमेको थियो ।
खेलमा एपिएफका प्रदिप लामा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत आइतबार नै ३ बजे दोस्रो खेलमा नेपाल पुलिस क्लब र खुमलटार युथ क्लब भिड्ने आयोजकले जानकारी दियो ।
त्यस्तै प्रतियोगिताको विजेताले नगद १५ लाख तथा उपविजेतालाई १० लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस् क्लब, खुमलटार युथ क्लब, नव जनजागुती युवा क्लब सिमरा, बागमती युवा क्लब सर्लाही, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी गरि टिमको सहभागिता रहनेछ ।



