जेठ २९ काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको खेलमा अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै अन्तिमा २ बलमा २ विकेट लिएपछि त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिकाबीचको खेल बराबर भएको छ।
जितका लागि २ सय ७५ रनको लक्ष्य पछ्याएको घरेलु टोलि अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनायो।अमेरिकालाई जितका लागि अन्तिम ६ बलमा ६ रन आवश्यक थियो। तर एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरिरहेका आदिल अन्सारीले पाँच रन खर्चिदै नेपाललाई हारबाट जोगाए।
पहिलो, दोस्रो र तेस्रो बलमा लगातार १-१ रन दिएका आदिलले चौथो बलमा नो बल फाले। फ्रि हिटमा १ रन मात्र दिए। यो सँगै स्कोर बराबरी भयो। अब अमेरिकालाई दुई बलमा जितका लागि एक रन आवश्यक थियो।
पाँचौं बलमा आरोन जोन्सलाई आदिलले रोहित पौडेलको हातबाट आउट गराए। अन्तिम बलमा राहुल जरिवाला रन आउट हुँदा नेपालले नाटकीय रूपमा खेल बराबरी गर्न सफल भयो। यो सँगै दुबै टोलीले एक-एक अंक बाँडेका छन्।
अमेरिकाका लागि स्टिभन टेलरले सर्वाधिक ११४ रन बनाए। १ सय २३ बल खेलेका उनले आदिल अन्सारीको बलबाट आउट हुनुअघि ११ चौका र ३ छक्कासहित १ सय १४ रनको शतकीय इनिङ खेलेका थिए।
यस्तै कप्तान मोनांक पटेलले ८५ रन जोडे। सन्दिप लामिछानेको बलबाट आउट हुनुअघि उनले १ सय १५ बलमा उनले ४ चौका र २ छक्कासहित ८५ रन जोडेका थिए। आरोन जोन्सले २६ रन बनाउँदा शुसान्त मोदानीले १७ रन बनाए। राहुल जरिवाला १० रनमा आउट भए।
नेपालका लागि डेब्यू खेल खेलेका आदिल अन्सारीले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले समान १–१ विकेट लिए ।
त्यसअघि ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २ सय ७४ रन बनायो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६२ रन बनाए। रोहितसँगै आसिफ शेखले ६१ र देव खनालले ५४ रनको अर्धशतकी इनिङ खेले।
अमेरिकाकाका लागि रस्टी थेरनले ९.२ ओभरमा ५६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। सौरभ नेत्रवालकारले १० ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । अली खानले १० ओभरमा ६२ रन खर्चेर २ विकेट लिए। ७ ओभर बलिङ गरेर ४८ रन खर्चिएका निसर्ग पटेल र ६ ओभर बलिङमा ४२ रन खर्चिएका यासिर मोहम्मदले समान १-१ विकेट लिए।


