काठमाडौं । पछिल्ला दुई–तीन दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तल्लो भागस्थित खोल्सीमा पहिरो गएपछि सडकछेउमा रहेको ग्याबिन वाल भासिएको छ।
ऊर्जामन्त्री बिराज भक्त श्रेष्ठले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार, भासिएको क्षेत्रको अवस्थाबारे शुक्रबार जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणमा नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसियाली विकास बैंकका प्रतिनिधिसमेत सहभागी थिए।
निरीक्षणपछि सम्भावित जोखिम न्यूनीकरणका लागि तत्काल आवश्यक काम अघि बढाइएको मन्त्री श्रेष्ठले बताएका छन्। उनका अनुसार ड्यामको माथिल्लो भागमा चार स्थानमा अस्थायी ड्रेन निर्माण गरी वर्षात्को पानी डाइभर्ट गर्ने काम भइरहेको छ।
त्यस्तै, पहिरोका कारण भासिएको क्षेत्रको ओभरबर्डेन हटाउने तथा एहतियातका रूपमा जलाशयको पानी प्रतिप्रति सेकेन्ड ४०० लिटरका दरले चौबीसै घण्टा निकासी गर्ने व्यवस्था मिलाइएको छ।
मन्त्री श्रेष्ठका अनुसार हाल तल्लो तटीय क्षेत्रमा उल्लेख्य जोखिम देखिएको छैन। भू–भाग स्थिर भएपछि भासिएको क्षेत्रमा ग्याबिन तथा स्लोप प्रोटेक्सनको स्थायी संरचना निर्माण गरिनेछ।
घटनास्थलमा प्राविधिक टोलीलाई निरन्तर खटाइएको र टोलीले अवस्थाको अनुगमन गर्दै आवश्यक कार्य अघि बढाइरहेको मन्त्री श्रेष्ठले जानकारी दिएका छन्।


