जेठ २९ काठमाडौं । अखिल नेपाल फुटबल संघले पूर्व कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको सातौं पुण्यतिथिको अवसरमा आइतबार विशेष कार्यक्रमको आयोजना गरेर मनाएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राखिएको स्वर्गीय श्रेष्ठको शालिकमा श्रेष्ठकी पत्नी निलु श्रेष्ठले उद्घाटन गरिन् । सो अवसरमा उहाँको निधनमा एक मिनेट मौन धारण गरिएको थियो ।

श्रेष्ठप्रति एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष वीरबहादुर खड्का, कृष्ण थापा, शिक्षित पराजुली र उपेन्द्रमान सिंह, महासचिव इन्द्रमान तुलाधरलगायत एन्फा सदस्यहरूले पुष्पगुच्छा अर्पण गरेका थिए ।

कार्यक्रममा एन्फा अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ र थ्रीस्टार क्लबका अध्यक्ष अरुणमान जोशीले श्रेष्ठको योगदानको स्मरण गरेका थिए । २०१५ मा आजकै दिन एन्फाका कार्यवाहक अध्यक्ष तथा थ्रीस्टार क्लबका अध्यक्ष श्रेष्ठको भैसेपाटीस्थित आफ्नै घरमा करेन्ट लागेर निधन भएको थियो ।



