एजेन्सी । पछिल्लो समय बन्दुकको बलमा पुनः सत्तामा पुगेको तालिबानले अफगानिस्तानमा अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त गरेको छ ।
युद्धमार्फत तालिबान २० वर्षपछि अफगानिस्तानको सत्तामा आइपुगेको हो । सत्ता सम्हालेलगत्तै तालिबानले सरकार गठनको प्रक्रिया अघि बढाएको छ । उसले मङ्गलबार गुल आगालाई अर्थमन्त्री र सदर इब्राहिमलाई कार्यवाहक गृहमन्त्री नियुक्त गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
तालिबानले गुप्तचर प्रमुख, काबुलको गभर्नर र शिक्षा विभाग प्रमुख पनि नियुक्त गरिसकेको छ । गुप्तचर प्रमुखमा नजिबुल्लाह, काबुलको गर्भनरमा मुल्ला शिरिन, कार्यवाहक शिक्षा प्रमुखमा सखउल्लाह र उच्च शिक्षाको कार्यवाहक प्रमुख अब्दुल बाकीलाई बनाइएको छ । त्यस्तै काबुलको मेयरमा नोमानी नियुक्त भएका छन् ।
तालिबानले यसअघि आफ्नो प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई संस्कृति तथा सूचनामन्त्री नियुक्त गरिसकेको छ । अफगानिस्तानबाट सबै विदेशी सैनिक फिर्ता नभएसम्म सरकार नबनाउने घोषणा तालिबानले गरेको थियो । तालिबानले अमेरिकी सैनिक ३१ अगष्टसम्म मात्रै अफगानिस्तान बस्न पाउने जनाएको छ । अमेरिका र बेलायतले आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउन अफगानिस्तानमा सेना परिचालन गरेका छन् ।
काबुल एयरपोर्ट अहिले पाँच हजार अमेरिकी सेनाको नियन्त्रणमा छ । अमेरिकी सैनिकहरुले आफ्ना देशका नागरिकका साथै विभिन्न मुलुकका नागरिक एवं अफगानिस्तानका नागरिकहरुलाई पनि त्यहाँबाट उद्धार गरिरहेका छन् ।


