असार २ काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा एक सिजनका लागि भारतीय क्लब गोकुलम केरेला एफसीमा अनुबन्धित भएकी छिन् ।
भारतीय क्लब गोकुलम केरेला एफसीमा अनुबन्धित भएकी ‘साम्बा’ले आफ्नो लक्ष्य एएफसी महिला क्लब च्याम्पियनसिप जित्नु र क्लबलाई लिग जिताउनु रहेको बताएकी छिन् ।
साम्बालाई केरेलाले एक वर्षका लागि हिजो अनुबन्धित गरे पछि साम्बाले यस्तो प्रतिक्रिया दिएकी हुन् । सन् २०१८र१९ को सिजन पहिलो पटक सेथु एफसीमा अनुबन्धित हुँदै भारतीय लिग खेल्ने पहिलो नेपाली महिला बनेकी साम्बाले सोही सिजन क्लबलाई पहिलो पटक च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।
सेथुका लागि पहिलो सिजनमा नै १६ गोल गरेकी साम्बाले दोस्रो सिजन भने गोकुलम केरेला एफसीबाट खेलेकी थिइन् ।
सो सिजनमा पनि साम्बाले केरेलालाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिन् । क्लबका लागि १६ गोल गर्दै लिगकै सर्वाधिक गोलकर्ता बनेकी उनै साम्बालाई केरेलाले दोस्रो पटक अनुबन्धित गरेको हो ।


