आइतबार, भाद्र २८ गते २०८३
images

क्रिकेट टोली स्वदेश फिर्ता

एक्सप्रेस पाना
श्रावण ३, २०७९ मंगलबार
  • 338
    SHARES
  • क्रिकेट टोली स्वदेश फिर्ता

    साउन ३ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । 

    images

    आइसिसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डमा आयोजित स्कटल्यान्ड, नेपाल र नामिबियासम्मिलित त्रिकोणात्मक एकदिवसिय सिरिजका खेल सकेर टोली आज नेपाल आइपुगेको हो । 

    असार २६ १० बाट सुरू भएको सिरिज साउन १ मा सकिएको थियो । सिरिजअन्तर्गत नेपालले स्कटल्यान्डसँग दुई र नामिबियासँग दुई खेल खेलेको थियो । पहिलो खेलमा नामिबियासँग ४० रनको हार भोगेको नेपालले दोस्रो खेलमा भने बलियो मानिएको स्कटल्यान्डविरुद्ध पाँच विकेटको ऐतिहासिक जित निकालेको थियो । 

    images

    सिरिजभर खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले तेस्रो खेलमा नामिबियासँग ६३ रनको र चौथो खेलमा स्कटल्यान्डसँग आठ विकेटको लज्जास्पद हार बेहोर्दै सिरिजको अन्त्य गर्यो । 

    सिरिजमा कमजोर प्रदर्शन गरेको नेपाल अङ्कतालिकामा एक स्थान तल झरेको छ । स्कटल्यान्ड जानुअघि १५ अङ्कसहित तालिकाको पाँचौं स्थानमा रहेको नेपालविरुद्ध लगातार दुई जित दर्ता गर्दै नामिबियाले नेपालको स्थान खोसेको छ । 

    चार खेलबाट दुई अङ्क मात्र बटुलेको नेपाल २० खेलबाट १७ अङ्क जोड्दै तालिकाको छैटौं स्थानमा झरेको छ । नेपालभन्दा दुई खेल कम खेलेको नामिबियाले चार खेलमा चार अङ्क जोड्दै १८ अङ्कसहित अङ्कतालिकाको पाँचौं स्थान कब्जा गरेको छ । 

    सिरिजमा सम्मिलित स्कटल्यान्ड भने दोस्रो स्थानमा यथावत छ । सिरिजअघि २८ अङ्कका साथ दोस्रो स्थानमा रहेको स्कटल्यान्डले सिरिजका चारमध्ये तीन खेलमा जित निकाल्दै ६ अङ्क बटुलेको छ । 

    ओमानभन्दा १२ खेल कम खेलेको स्कटल्यान्डले २४ खेलबाट ३४ अङ्क बटुलेको छ । स्कटल्यान्डले अब लिगमा १२ खेल खेल्न बाँकी छ । नामिबियाले १८ खेल खेल्न बाँकी रहँदा नेपालले १६ खेल खेल्न बाँकी छ । अङ्कतालिकाको तेस्रो स्थानमा रहेको युएईले १४, चौथो स्थानमा रहेको अमेरिकाले १२ र पुछारमा रहेको पपुवा न्युगिनीले १६ खेल खेल्न बाँकी रहेको छ । 

    अङ्कतालिकाको शीर्ष तीनमा रहने राष्ट्रहरु क्रिकेट विश्वकप २०२३ को क्वालिफायरमा सिधैं छनोट हुनेछन् । बाँकी रहेको चार राष्ट्रले च्यालेन्ज लिगका शीर्ष दुई राष्ट्र सम्मिलित क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ । विश्वकप क्वालिफायरको शीर्ष दुईमा पर्न सक्ने राष्ट्रहरुले भारतमा हुने विश्वकपमा खेल्न पाउनेछन् ।