भदौ १० काठमाडौं । दुबईमा जारी एएसबिसी युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सिङ खेलाडी नारिका राईले कास्य पदक हात पारेकी छिन् । सेमिफाइनलमा भारतीय खेलाडी प्रीतिसँग पराजित भएकी उनले कास्य पदक जित्न भने सफल भएकी हुन् । महिला ५७ केजीमा प्रतिस्पर्धा गरेकी राई क्वाटरफाइनलमा बाई पाउँदै सोझै सेमिफाइनल पुगेकी थिइन् ।
प्रतिस्पर्धामा कमजोर देखिएकी राईले दुवै राउन्ड भारतीय खेलाडीलाई सुम्पिएकी थिइन् । क्वाटरफाइनलमा मङ्गोलियाकी टुग्सजार्गेल नोमिनलाई पाखा लगाएर सेमिफाइनल आएकी प्रीतिले उपाधि भिडन्तका लागि काजकिस्तानकी साख्नाज इस्सायेभा र उज्वेकिस्तानकी उक्तानमोभा निगीनाबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।
राईले पदक जितेसँगै दुबईमा जारी प्रतियोगितामा नेपालले जितेको पदकको सङ्ख्या दुई पुगेको छ । त्यस्तै पुरुष ५४ केजीमा प्रतिस्पर्धा गरेका छिरिङ शेर्पाले नेपाललाई कास्य पदक दिलाइसकेका छन् ।


