साउन १७ काठमाडौं । नेपाली गोलकिपर किरणकुमार लिम्बूले सोमबार सकिएको माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगलाई अविस्मरणीय बनाएका छन् ।
किरण आबद्ध क्लब माजिया एससीले सिजनको उपाधि जित्न सफल भयो भने उनी लिगकै सर्वोत्कृष्ट गोलिकपर समेत घोषित भए । किरणले आफ्नो खुसी यतिमा मात्र सीमित राखेनन् ।
क्लबका खेलाडीले लिगको ट्रफी उचालेर खुसी मनाइरहँदा उनले आफ्नी प्रेमिकालाई हातमा समातेर मैदानमै लगे । त्यसपछि किरणले मैदानमै प्रेमिका कञ्चन निरौलालाई सबै सहकर्मीका अघि औंठी लगाइदिए, विवाह प्रस्ताव राखे । किरणले यसो गर्दा सबै खेलाडीले ताली बजाएर साथ दिएका थिए ।
कञ्चन पेशाले एयरहोस्टेज हुन् । केही वर्षदेखि प्रेममा रहेका उनीहरूको यो वर्ष विवाह गर्ने योजनामा रहेका छ । किरणले आफ्ना नजिकका साथीसँग यो वर्ष विवाह गर्ने बताएका छन् ।
माल्दिभ्सको राजधानी मालेमा प्रेमिका निरौलालाई औंठी लगाइदिएको भिडिओ किरणले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । भिडिओ पोस्टमा उनले प्रेमिकाको प्रशंसा गर्दै आफ्नो जीवनमा आएकोमा धन्यबाद दिएका छन् ।



