साउन २० काठमाडौं । गायन रियालिटी शो 'द भ्वाइस अफ नेपाल' सिजन ४ को कोच परिवर्तन गरिएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रम गर्दै कोच परिवर्तन गरिएको जानकारी दिइएको हो।
तीनवटै सिजनमा कोचको रूपमा देखिँदै आएका दीप श्रेष्ठ र तेस्रो सिजनमा कोच रहेकी तृष्णा गुरुङको ठाउँमा राजेश पायल राई र प्रविशा अधिकारी देखिने भएका छन्।
नयाँ कोच राजेश र प्रविशाले आगामी सिजनमा जोडिन पाउँदा उत्साहित रहेको बताए। यसअघि शोकोे हरेक सिजनमा एक महिला कोच परिवर्तन हुँदै आएका थिए। यसपटक भने दुई जना कोच परिवर्तन गरिएको हाे।
अघिल्ला दुई सिजनमा कोच रहेका प्रमोद खरेल र राजु लामा यो वर्ष पनि यथावत् नै रहनेछन्। हिमालय टेलिभिजनबाट आगामी एक महिनाभित्रै 'द भ्वाइस अफ नेपाल' सिजन ४ को प्रसारण हुने बताइएको छ। कार्यक्रम हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ।


