एजेन्सी । क्रिस्टल प्यालेसमाथि २-० गोलको सहज जित निकाल्दै आर्सनलले नयाँ सिजन २०२२/२३ को इंग्लिस प्रिमियर लिग फुटबलमा सुखद सुरुवात गरेको छ ।
यसै सिजन म्यानचेस्टर सिटीबाट आर्सनल भित्रिएका ग्याब्रियल जिसस र ओलेजेन्डर जिचेन्को डेब्यु खेलमा आफ्नो प्रभाव छोड्न सफल भए । जिससले आफ्नो खेलले सबैको ध्यान तानेका थिए भने जिचेन्कोले पहिलो गोलका लागि असिस्ट गरेका थिए ।
२०औं मिनेटमा जिचेन्कोको पासमा ग्याब्रियल मार्टिनेलीले आर्सनलका लागि गोल खाता खोलेका थिए । खेल सकिन पाँच मिनेट बाँकी रहँदा प्यालेसका मार्क ग्वेइको आत्मघाती गोलमा आर्सनलको अग्रता दोब्बर भएको थियो ।
प्यालेसले बारम्बार खेलमा फर्कने प्रयास गरे पनि आर्सनलका गोलकिपर एरोन राम्सडाले त्यसमा बाधक बनेका थिए ।
उक्त जित सँगै आर्सनलले पहिलो खेलमा ३ अंक जोडेको छ ।


