भदौ ३ मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची तिपेनी सडक खण्डको बिभिन्न स्थानमा पहिरो जाँदा बाटो अबरुद्ध भएको छ । अबरुद्ध बाटोको कारण गाउँदेखि काठमाडौं सम्मको सीधा यातायात संचालन नहुँदा पाँचपोखरी थाङपाल गाउँपालिकाका यात्रुहरुलाई सास्ती भएको छ ।
मेलम्ची नगरपालिका अन्तर्गत पर्ने उक्त सडक खण्डको राम्चेमा पहिरो जाँदा यातायात संचालन गर्न जोखिम देखिएपछि स्थानीय तहले नै मर्मतको लागि बाटो बन्द गरेको हो । बाटो मर्मतको काम भइरहेको भए पनि नियमित यातायात संचालनको लागि दुई साता सम्म लाग्ने मेलम्ची नगरपालिकाका ईन्जिनीयर जित बहादुर कार्कीले बताएका छन् ।
बाढीका कारण मेलम्ची बजारमा पुल नहुँदा बैकल्पिक सडकको प्रयोग गर्दै आइरहेका पाँचपोखरीका स्थानीयहरुलाई बाटो अबरुद्ध भएसंगै खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रीको ढुवानीमा समेत समस्या परेको छ । यस्तै गएराति भारी बर्षा पछि आएको बाढीका कारण मेलम्ची हेलम्बु सडक खण्ड पनि अबरुद्ध भएको छ । मेलम्ची ११ सिमखेतमा खोलाले सडक कटान गर्दा यातायात संचालन हुन नसकेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । त्यस्तै मेलम्ची १० रामपुरबेसिमा पहिरो जादा यातायात अबरुद्ध भएको छ ।
.jpg)


