भदौ १२ काठमाडौं । शुक्रबार मात्रै पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले इटालियन युभेन्टस छाडेसँगै उनको स्थानमा रियल मड्रिडका बेल्जियम फरवार्ड इडेन हाजार्डलाई भित्र्याउन युभेन्टसले तयारी थालेको चर्चा सुरु भएको छ ।
बेल्जियमका कप्तानसमेत रहेका हाजार्ड युभेन्टसले रोनाल्डोको प्रतिस्थापनका लागि भित्र्याउने खेलाडीको सूचीको शीर्ष स्थानमा राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दाबी गरेको छ ।
त्यस्तै यता रियलले पेरिस सेन्ट जर्मन ९पीएसजी०बाट किलियान एम्बाप्पे भित्र्याउने लगभग पक्का जस्तै भएको छ । स्पेनिस मिडियाहरूले एम्बाप्पे रियाल सरुवा कुनै हालतमा पनि नरोकिने जिकिर गरिरहेका बेला हाजार्डको पनि चर्चा चुलिएको हो ।
हाजार्डले केही हप्ताअघि आफू रियालमै बस्न चाहेको बताएका थिए । तर, एम्बाप्पेको सरुवा भयो भने हाजार्ड सुरुवाती ११ मा पर्न सम्भावना कम रहेको छ । जसको कारण युभेन्टस जान सक्ने बताएको छ ।
हाजार्ड जुलाई १ सन् २०१९ इंग्लिस प्रिमियर लिग फुटबल क्लब चेल्सीबाट १०० मिलियन पाउन्डमा रियाल मड्रिड गएका थिए । यद्यपि, निरन्तर चोटको शिकार बनेका हाजार्ड दुई सिजनमा ४५ खेल मात्रै खेलेका छन् । हाजार्डले रियालबाट ५ गोल र ९ असिस्ट मात्रै गर्न सकेका छन् ।
त्यस्तै रोनाल्डो जुलाई १८ सन् २०१८ मा ९ बर्ष रियल मड्रिडको बसाइँ अन्त्य गर्दै युभेन्टस गएका थिए । उनले युभेन्टसका लागि १४० खेलमा १०४ गोल र २२ अस्सिट गरेका छन् ।


