भदौ १३ एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधिको दाबेदार टोली रियल मड्रिड विजयी भएको छ । शनिबार राति भएको आफ्नो तेस्रो खेलमा पाहुना टोली रियलले घरेलु टोली रियल बेटिसमाथि १-० गोलको जित निकालेको हो । रियलको जितमा ड्यानी कार्भाजलले गरेको एक मात्रै गोल जितको लागि प्रयाप्त बन्यो ।
निकै प्रतिस्पर्धात्मक बनेको पहिला हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको खेलको ६१औं मिनेटमा पाहुना टोली रियलको लागि ड्यानी कार्भाजलले गोल गरे । उनले फवार्ड करिम बन्जेमाको पासमा गोल गरेका हुन । त्यसपछि बाँकी समय थप गोल नहुँदा रियल १-० गोलले विजयी भयो ।
उक्त जितसँगै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । रियल मड्रिडले ३ खेलबाट ७ अंक बनाएको छ । यता पराजित टोली रियल बेटिसको भने समान खेलबाट २ अंकसहित १३औं स्थानमा रहेको छ ।


