उर्जा पौडेल
तिम्रो जति पिडा त भोगेको छैन मैले तर
तिमी भित्र समाहित भएर महसुस गरेको छु, त्यो क्षितिज पर कलकल बग्ने छहरा सरि !
मखमली लहराउने लहरा सरि
तिम्रो सिउँदो पुसिदा, सन्तानको बिवस्त्स हत्या हुदाँ ढलेका छन् चट्टान पहरा सरि !
कोपिलाबाट फूल बनाएर हुर्काएको छोरीको विनाश गर्दा कसरि सम्हालेउ होला त्यो मन बसन्त देखि वर्षासम्म सर्दा !
आफ्नै श्रीमानले परस्त्री अंगाल्दा तिम्रो आँशुको नदी देखेको छु, बोली मात्र फुटेको सन्तानको निम्ति तिमीलाई संघर्षको मैदानमा उत्रिएको देखेको छु !
गरिबीको चरम सीमाले तिमी घाम पानी नभनी भौतारिंदा, भोक र निन्द्रालाई त्यागेर गिद्दको नजरबाट बच्न एउटा कुनामा पछारिदा
विवाह भएपछी घर र समाजको असहनीय हेला र पिडा सहदा तिम्रो अस्मितालाई दाइजोसंग किन्दा, कसैको भएर पनि एक्लै तिमी रहदा !
तिमी भित्रको प्रकाशले नै तिमीलाई न्याय दिने छ, त्यो शुन्यतामा खोजि हेर सत्यताले तिमी भित्रसम्म छुने छ !
आजसम्म प्रतिशोध र अज्ञानताले कसैको कल्याण गरेको छैन, अन्धकारलाई हटाउन ज्योतिनै चाहिन्छ, घ्रिणालाई घ्रिणाले मारेको छैन !
मान्छे त हुन्छ निश्चल अविरल समुन्द्र सरि
समय र सोचले बनाउछ उसलाई विषालु दानव सरि , त्यसपछि बग्नेछन् रगतका नदी, मेटिनेछन् हरेक सम्बन्धहरु आत्मबोधबाट जति टाढा भयो त्यतिनै ढल्नेछन् स्तम्भहरु !
मिल्ने भए सबैको पीडालाई समाहित गरेर आफू भित्र धारण गर्ने थिएँ
शिवले विष पिएर सबैमा अमृत बाँडे जस्तो शान्तिको फूल सार्ने थिएँ
आकाश मा उड्ने चरादेखी धर्तीमा हराएको जिवणुसम्म दुख नमिसिएको सुखमात्र उजागर गर्ने थिएँ ।।


