भदौ १४ काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले वुल्भ्सविरुद्ध उसैको घरेलु मैदानमा १(० को जित दर्ता गराएको छ ।
आइतबार राति वुल्भ्सको मैदान मिलोनियस रंगशालामा सम्पन्न खेलमा युनाइटेडको जित निश्चित गर्न फरवार्ड मासन ग्रिनउडको ८०औं मिनेटको एक मात्र गोल पर्याप्त बन्यो ।
रियल मड्रिडबाट यसै सिजनमात्रै युनाइटेडमा आएका डिफेन्डर राफल भारानको पासमा ग्रिनउडले प्रहार गरेको सट वुल्भ्सका गोलरक्षक जाले रोक्न असफल भएपछि युनाइटेडको जित निश्चित भएको थियो ।
त्यसबाहेक, युनाइटेडका गोलरक्षक डेभिड डी गियाको प्रदर्शन पनि तारिफयोग्य रह्यो । उत्कृष्ट बचाउ गरेका उनले युनाइटेडलाई तीन अंक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।
उक्त जितसँगै युनाइटेड प्रिमियर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । ३ खेलबाट ७ अंक बटुलेको युनाइटेडभन्दा वेस्ट ह्याम र टोटनहम अघि रहेका छन् । यता पराजित भएको वुल्भ्स भने तालिकाको १८औं स्थानमा पुगेको छ ।



