भदौ १४ काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुुटबल क्लब त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपानेले क्लबसँग सम्झौता नवीकरण गरेको छ । नेपालको एक मात्रै एएफसी लाइसेन्स प्राप्त त्रिभुवन आर्मी फुटबल क्लबले यस सिजनका लागि प्रशिक्षक नवीनसँग सम्झौता नवीकरण गरेको हो ।
लिग उपविजेता आर्मी र प्रशिक्षक नवीन दुबै यस सिजन सहकार्य गर्न तयार भएका हुन् । उनले आगामी जुलाईबाट सुरु हुने गरी एक वर्षका लागि सम्झौता गरेका हुन् । गत सिजन आर्मीलाई लिगको अन्तिम खेलमा उपाधि दिलाउने प्रयासमा रहेका नवीन अन्तिम खेलमा मछिन्द्रसँग १–० गोल अन्तरले पराजित हुँदा प्रशिक्षकको रुपमा पहिलो लिग उपाधिबाट बञ्चित रहेका थिए ।
अखिल नेपाल फुटबल संघ ९एन्फा०ले २९ कात्तिक २९ बाट ए डिभिजन लिग सञ्चालन गर्दैछ । यतिबेला खेलाडी र प्रशिक्षक भित्राउन सहभागी १४ क्लबहरुको होडबाजी चलिरहेको छ । नवीनले आर्मी टोली छाड्ने हल्लासमेत बजारमा थियो । केही समय पारिवारिक र कोरोनाका कारण अस्वस्थ रहेका नवीन आर्मी छोड्ने आफूले निर्णय नलिएको बताउँदै अर्को थप एक बर्ष आर्मीमै रहने बताए ।


