एजेन्सी । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइट सार्वजनिक हुनुभन्दा पहिले राष्ट्रिय टोलीमा फर्किएका छन् ।
आगामी बर्ष सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोटका खेल खेल्नका लागि ३६ वर्षीय सुपरस्टा पोर्चुगल फुटबल टोलीमा फर्किएका हुन् ।
गत शुक्रबारको अप्रत्याशित सरुवापछि रोनाल्डो यतिबेला निकै चर्चामा छन् । युनाइटेडले सहरी प्रतिद्वन्द्वी क्लब म्यानचेस्टर सिटीलाई पछि पार्दै पाँच पटकका बालोन डी‘ओर रोनाल्डोलाई ओल्ड ट्राफोर्ड फर्काएको थियो । युनाइटेडले रोनाल्डो भित्र्याउन युभेन्टससँग सहमति जनाएको बताउँदै उनलाई टोलीमा स्वागत गरेको थियो । यधपी क्लबले सार्वजनिक भने गरेको छैन ।
रोनाल्डोको मेडिकल लिस्बनमा यसै साताभित्र भइसक्ने जनाइएको छ । रोनाल्डो र युनाइटेडबीच दुई वर्षे सम्झौता गर्ने सहमति भएको जनाएको छ । त्यसबाहेक इच्छानुरुप थप एक सिजनको सम्झौता थप्न सक्न प्रावधान रहेको बताइएको छ ।
युनाइटेडका समर्थक अब रोनाल्डोलाई आधिकारिक रूपमा सार्वजनिक गरेको हेर्न चाहन्छन् तर रोनाल्डो भने युनाइटेड नआएर पोर्चुगल पुगेका छन् । पोर्चुगलले बुधबार रिपब्लिक अफ आयरल्यान्ड, कतार र अजरबैजानसँग खेल्नेछ ।
रोनाल्डोले सेप्टेम्बर ११ मा न्युकासलसँग खेल्दै युनाइटेडबाट दोस्रो पटक डेब्यु गर्न सक्ने सम्भावना रहेको छ ।




