भदौ १५ काठमाडौं । आगामी असोज ९ गते देखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुने चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी२० क्रिकेट प्रतियोगिताको विजेता टोलीले नगद ५० लाख प्राप्त गर्ने भएको छ ।
ईपीएल क्रिकेटले आयोजकले आज (मंगलबार) विजेताले ५० लाख प्राप्त गर्ने घोषणा गरेको छ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ । गत संस्करणको भन्दा यस संस्करणको ईपीएलमा पुरस्कार राशिमा दोब्बर वृद्धि भएको हो । यससँगै ईपीएल नेपालमा सर्वाधिक पुरस्कार राशीको फ़्रेन्चाइज क्रिकेट बनेको छ।
अघिल्लो संस्करणको विजेताले २५ लाख र उपविजेताले १० लाख प्राप्त गरेको थियो । अघिल्लो संकरणमा भैरहवालाई हराएर ललितपुरले उपाधि जितेको थियो ।
यस प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । ललितपुर प्याट्रीयट्ससंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।


