एजेन्सी । आगामी बर्ष कतारमा आयोजना हुने फिफा विश्वकप अन्तर्गत युरोपेली छनौटको समूह ए मा रहेको पोर्चुगलले कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा गरेको २ गोलको मद्दतले रिपब्लिक अफ आयरल्यान्डलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
बिहिवार बिहान सम्पन्न खेलमा घरेलु टोली पोर्चुगलका कप्तान रोनाल्डोले पहिलो हाफमा पेनाल्टी चुकाएपनि खेलको अन्त्यतिर कीर्तिमानी गोलसहित लगातार २ गोल गर्दै रोमान्चक जित दिलाए । कुनै समय हारतर्फ उन्मुख रहेको पोर्चुगलका लागि बराबरी गोल गरेसँगै रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका थिए । इन्ज्युरी समयमा पुनः दोस्रो गोल गर्दै रोनाल्डोले टोलीलाई जित दिलाउन सफल रहे ।
त्यसअघि खेलको १५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा अग्रता दिलाउने अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । रोनाल्डोको प्रहार आयरल्यान्डका १९ बर्षीय गोलरक्षक ग्याभिन बाजुनुले विफल पारेका थिए । पेनाल्टी क्षेत्रभित्र जेफ हेन्डरिकले ब्रुनो फर्नान्डेसलाई लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिएका थिए ।
त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा पाहुना टोली आयरल्यान्डले अग्रता लिन सफल भयो । उसका लागि जोन इगनले हेडरमार्फत गोल गर्दै टोलीलाई पहिलो हाफभरि १-० गोलको अग्रता दिलाएका थिए ।
दोस्रो हाफको सुरुवातबाट नै आक्रमण खेल प्रस्तुत गरेको पोर्चुगलले खेलको अन्तिम ८९औं मिनेटमा गोन्कालो ग्वेडेसको क्रसमा रोनाल्डोले हेडरमार्फत गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।
त्यसपछि इन्ज्युरी समयको छैटौं मिनेटमा जोआओ मारियोको क्रसलाई सदुपयोग गर्दै रोनाल्डोले पोर्चुगलका लागि विजयी गोल गरे । रोनाल्डोले गोलको खुसी मनाउने क्रममा जर्सी खोलेपछि पहेंलो कार्ड पनि पाएका थिए । एक समय हारतर्फ उन्मुख टोलीलाई रोनाल्डोले अन्त्यतिर उत्कृष्ट फिनिसिङको नमुना प्रस्तुत गर्दै जित दिलाएका थिए ।
रोनाल्डो बराबरी गोलसँगै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बने । उनको त्यो पोर्चुगलका लागि १ सय १० औं गोल थियो । यसअघि इरानका अली दाइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमानलाई तोड्दै यो उपलब्धि रोनाल्डोले आफ्नो नाम गरेका हुन् । रोनाल्डोले दोस्रो गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १ सय ११ पुर्याए ।
खेलअघि रोनाल्डोलाई युरोपेली च्याम्पियनसिप २०२० को सर्वाधिक गोलकर्ताको ट्रफी पनि प्रदान गरिएको थियो । रोनाल्डोले युरोका दौरान पोर्चुगलका लागि ५ गोल गरेका थिए । प्याट्रिक सिकसँग समान गोल गरेपनि असिस्ट र कम समय खेलेको आधारमा उनले ट्रफी जितेका थिए ।
उक्त जितसँगै पोर्चुगलले समूहको शीर्षस्थानमा यथावत् रहेको छ । पोर्चुगलको ४ खेलमा १० अंक छ । यता दोस्रो स्थानको सर्बियाको ३ खेलमा ७ अंक छ भने लक्जेम्बर्गले ३ खेलमा ६ अंक तथा आयरल्यान्ड र अजरबैजान ३ खेल खेल्दा अंकविहिन छन्।
अन्य खेलको नतिजा
काजखस्तान भर्सेस युक्रेन (२-२)
फ्रान्स भर्सेस बोस्निया एन्ड हर्जगोभिना (१-१)
लाटभिया भर्सेस गिब्रल्टार (३-१)
नर्वे भर्सेस नेदरल्यान्ड्स (१-१)
फारोइ इज्ल्यान्ड भर्सेस इज्रायल (०-४)
माल्डोभा भर्सेस अस्ट्रिया (०-२)
डेनमार्क भर्सेस स्कटल्यान्ड (२-०)
रसिया भर्सेस क्रोएसिया (०-०)
लक्जम्बर्ग भर्सेस अजरबैजान (२-१)
टर्की भर्सेस मोन्टेनिग्रो (२-२)
स्लोभेनिया भर्सेस स्लोभाकिया (१-१)
माल्टा भर्सेस साइप्रस (३-०)





