एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनौट अन्तर्गत युरोपेली छनौट खेलमा बेल्जियमले सानदार जित निकालेको छ । बिहीबार समूह ईको खेलमा बेल्जियमले इष्टोनियामाथि ५–२ गोल अन्तरले फराकिलो जित निकालेको हो ।
इष्टोनियाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली बेल्जियमको जितमा स्ट्राइकर रोमेलु लुकाकुले २ गोल गरे । यस्तै हान्स भनाकन, एलेक्स विट्सल, थोमस फोकटले १/१ गोल गरे । यता घरेलु टोली इष्टोनियाका लागि माटियस काईट र इरिक सोर्गले १/१ गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने घरेलु मैदानमा इष्टोनियाले बनाएको थियो । उसका काईटले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गरेका थिए । १-० गोलले पछि परेको पाहुना टोलीले यसपछि बेल्जियमले लगातार ५ गोल गरेको थियो । पहिलो हाफमा २-१ गोलको अग्रता बनाएको बेल्जियमले दोस्रो हाफमा थप ३ गोल गर्दै १ गोल खाएको थियो ।
यस्तै समूह ईको अर्को खेलमा चेक रिपब्लिकले बेलारुसलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
उक्त जितसँगै पाहुना टोली बेल्जियमले ४ खेलबाट १० अंक जोडदै शीर्षस्थानमा रहेको छ । यस्तै समान ४ खेलबाट ७ अंक जोडेको चेक रिपब्लिक दोस्रो स्थानमा छ । २ खेलमात्रै खेलेको वेल्स ३ अंकसहित तेस्रो स्थानमा छ । समान अंकसहित १ खेल बढी खेलेको बेलारुस तीन अंकसहित चौथो स्थानमा छ । ३ खेलबाट कुनै अंक नजोडेको इष्टोनिया तालिकाको पुछारमा छ ।


