एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनौट अन्तर्गत युरोपेली छनौट खेलमा बलिया राष्ट्र इंग्ल्याण्ड र जर्मनीले सहज जित निकालेका छन् । बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले हंगेरीलाई ४-० गोलले पराजित गरेको हो ।
हंगेरीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली इंग्ल्याण्डको जितमा रहिम स्टर्लिङ, ह्यारी केन, ह्यारी म्यागुईर र डिक्लेन राइसले १/१ गोल गरे । निकै प्रतिस्र्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो , तर दोस्रो हाफमा घरेलु टोली हंगेरीले ४ गोल ब्यहोरेको थियो ।
उक्त जितसँगै इंंग्याण्डले समूह आईको खेलमा सत प्रतिशत जित निकालेको छ । ४ खेलबाट १२ अंकसहित इंग्ल्याण्ड शिर्ष स्थानमा छ । समान ४ खेलबाट ७ अंक बनाएको पोल्याण्ड दोस्रो , समान ४ खेलबाट सात अंक बनाएको हंगेरी गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।
त्यस्तै बिहीबार राति नै भएको अर्को खेलमा जर्मनले लेक्टेनस्टाईनलाई २-० गोल अन्तरले पराजित गरेको छ । पाहुना टोली जर्मनको जितमा टिमो वेर्नर र लोरे सानेले समान १/१ गोल गरे । पहिलो हाफमा १-०गालको अग्रता बनाएको जर्मनले दोस्रो हाफमा थप १ गोल गरेको हो । पहिलो हाफको खेलको ४१औं मिनेटमा वेर्नरले गोल गर्दै जर्मनलाई अग्रता दिलाए । त्यस्तै दोस्रो हाफको खेलको ७७औं मिनेटमा सानेले गोल गर्दै जर्मनलाई २-० को सहज जित दिलाए ।

उक्त जितसँगै समूह जे मा जर्मन ४ खेलबाट ९ अंक बनाउँदै दोस्रो स्थानमा छ । समान खेलबाट १० अंक बनाएको अर्मेनिया पहिलो स्थानमा छ । ४ खेलमा हार ब्यहोरेको लेक्टेनस्टाइन तालिकाको पुछारमा छ ।


