एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले कतारमाथि सहज जित दर्ता गरेको छ । शनिबार राति हङ्गेरीस्थित नागर्देयी स्टेडियममा भएको खेलमा पोर्चुगलले नौ खेलाडीमा सीमित कतारमाथि ३–१ गोलको जित निकालेको हो ।
सुपर स्टार फरवार्ड तथा नियमित कप्तान क्रिस्टियानो रोनाल्डो विना मैदान उत्रिएको पोर्चुगलको जितमा आन्द्रे सिल्भा, ओताभियो एड्मिल्सन दा सिल्भा मोन्टेरियो र ब्रुनो फर्नान्डेसले १/१ गोल गरे । यता कतारका अब्देलकरिम हसनले १ गोल गरे । खेलको २३औं मिनेटमा सिल्भाले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको एक मिनेट बित्न नपाउँदै मोन्टेरियोले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए ।
खेलको ४३औं मिनेटमा मेशाल बर्सामले रातो कार्ड पाएपछि कतार १० खेलाडीमा सीमित बनेको थियो । त्यसपछि खेलको ६१औं मिनेटमा कतारका लागि अब्देलकरिम हसनले गोल गरि खेल २-१ को अवस्थामा ल्याए । तर ८८औं मिनेटमा बाउलेम खौखीले रातो कार्ड पाएपछि कतार नौ खेलाडीमा समेटियो ।
दोस्रो रेड कार्डमा पोर्चुगलले पेनाल्टीको मौका पाएको थियो, जसमा फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई ३-१ गोलको जित पक्का गरे । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको छनोट खेलको तयारीस्वरूप पोर्चुगलले मैत्रीपूर्ण खेल खेलेको हो ।


