एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनौट अन्तर्गत युरोपेली छनौट खेलमा डच टोलीले शानदार जित निकालेको छ ।
शनिवार राति घरेलु मैदानमा भएको समूह जी को खेलमा नेदरल्याण्डले मोन्टेनेग्रोलाई ४-० गोलले हराएको हो ।
नेदरल्याण्डको जितमा कप्तान मेम्फिस डिपेले २ गोल गरे भने जर्जिनियो विज्नाल्डम र कोडी गाक्पोले १/१ गोल गरे । खेलको ३८औं मिनेटमा डिपेले पेनाल्टीमा गोल गर्दै पहिलो हाफभरि नेदरल्याण्डलाई १-० गोलको अग्रता दिलाए ।
त्यस्तै दोस्रो हाफको खेलको ६२औं मिनेटमा उनले दोस्रो गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए भने ७०औं मिनेटमा विज्नाल्डम तथा ७६औं मिनेटमा गाक्पोले गोल गरेपछि नेदरल्याण्डले एकतर्फी जित दर्ता गरायो ।
उक्त जितसँगै समूह ‘जी’को नेदरल्याण्डले ५ खेलमा १० अङ्क बनाएको छ । ऊ दोस्रो स्थानमा छ । मोन्टेनेग्रो भने ७ अङ्कसहित चौथो स्थानमा छ ।


