जिल्लाको पाचँपोखरी थाङपाल गाँउपालिका ४ मा अबस्थित सुन्दर नागी थामडाडाँ अहिले पर्यटकीय गन्तव्यको रुपमा परिचित हुन थालेको छ । बाह्रैमास फरफराइ रहेको लुङदार र पञ्चरंगी तोरणले नागी थामडाडाँको शोभा बढाइरहेको हुन्छ । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको ड्रीम प्रोजेक्टको रुपमा रहेको यस ठाउँलाई पेमाछल उद्यान केन्द्र नामकरण गरिएको छ ।
अहिले गाउँपालिकाले प्रारम्भिक चरणमा ध्यान केन्द्र, तारा महल र अष्ट मणिको चैत्य निर्माण कार्य सम्पन्न गरेको छ । गत महिना मात्र बौद्धधर्म गुरु शरणायक गोन्ज्याङ छोग्टुल रेन्पोछे, बागमती प्रदेशका स्वास्थ्य मन्त्रि निमा लामा र गाउँपालिका अध्यक्ष टासी लामाले तारा महल र अष्ट मणि चैत्यको समुद्घाटन गर्नुभएको थियो ।
महत्वाकांक्षी यस योजनालाई सफल पार्न प्रदेश सरकारदेखि संघको बजेट ल्याउन निरन्तर प्रयत्न गरिरहेको गाउँपालिका अध्यक्ष टासी लामाले बताउनुभयो । मनमोहक सुन्दर पार्क बनाउनुका साथै बौद्ध शिक्षा सम्बन्धि विश्व विद्यालयको अवधारणा पनि रहेको अध्यक्ष लामा बताउनुभयो । यस अवधारणालाई मुर्तरुप दिन देश तथा विदेशमा रहेका नेपालीहरु र अन्तर्राष्ट्रिय संस्थाहरुसंग सहयोग र समन्वयका लागि लामाले अपिल गनुृभएको छ ।
साहसीक खेल प्याराग्लाईडिङको पनि सफल परिक्षण भइसकेको नागिडाँडामा अन्य थुप्रै सम्भावना छन् । समुन्द्री सतह देखि २४ सय ८० मिटर उचाइमा पर्दछ । यहाँबाट पश्चिममा जुगल हिम श्रीङ्खलाको मनमोहक दृश्य देखिन्छ भने थाङ्पाल उपत्यका सुन्दर गाउँ । दक्षिणमा छिमेकी जिल्ला काभ्रेको धुलिखेल, नगरकोट, फुलचोकी डाँडा हेर्न सकिन्छ । मुख्यत यहाँ जाडोयाममा पर्ने हिउँ संग रमाउनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् । यहाँ निशुल्क वाइफाइको सुबिधा समेत पुगि सकेको छ । अब पर्यटकलाई मनोरञ्जन र खर्च गर्नका लागि अन्य संरचनाको साथै पर्याप्त होटल र होमस्टेको सुविधा आवश्यक रहेको स्थानिय बताउछन् ।
धार्मिक र एतिहासिक महत्त्व
मणि ब्राह्मणको परिचय जीवन गाथा सङ्गै यस ठाउँको परिचय धारणी सुत्र (मन्त्र ) मा उल्लेख गरिएको पाईन्छ । यस मन्त्रमा उल्लेख गरे अनुसार दायाँ पट्टि सिंह गर्जेको जस्तो बायाँ पट्टी हात्ती सुतेको जस्तो र बिचमा शिखर कैलाश रहेको र त्यस स्थानमा पवित्र भुमी समय ताराको बासस्थान हुनेछ भनी उल्लेख गरेको नागीथाम डाँडा संरक्षण समितिका अध्यक्ष फुर्पा सिङ्गी लामाले बताउनुभयो ।
तिव्बतको तान्त्रिक यान तोप्तेन शाक्य श्री को भतिजो स्वयम्बु दर्शन गर्ने क्रममा यहि स्थल हुँदै जानुभएको आलेखहरु भेटिएको लामाले सुनाउनुभयो । शाक्य श्री यात्रामा खोलाको तिरै तिर जाने क्रममा धुपी पिन्ने घट्ट रहेको र त्यसै माथी एउटा पवित्र स्थल देखिएकाले त्यस स्थानमा मणि ब्राह्मणको सम्झनामा एउटा चैत्य निर्माण गरेको पनि देख्न सकिने किंवदन्ती छ । यस स्थानमा पाँच वटा डाकिनी (समय तारा) को बासस्थान रहेको भोट भाषामा लेखिएको पाईन्छ । यस कारण अहिले निर्माण भएको तारा महलमा समय तारा ( २१ तारा) राखेको लामाले बताउनुभयो । यस तारा महलमा दर्शन गर्ने र पुजा स्थल हुनेछ भने बाँकी भवनमा बौद्ध मार्गीहरु ध्यान गर्ने केन्द्रको रुपमा प्रयोग हुनेछ ।
यसरी पुग्न सकिन्छ नागी थाम डाँडा
पेमाछल उद्यान केन्द्र नागीथाम डाँडा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ मा पर्दछ । यो ठाउँ राजधानी काठमाडौबाट लगभग ७५ कि.मि दुरिमा रहेको छ । काठमाडौ जिल्लाबाट नजिकैको गन्तव्य मेलम्ची हुदै सवारी साधनमा ४ देखि ५ घण्टाको यात्रामा यहाँ सहजै पुग्न नागिथाम डाँडा । एक दिनको समय लिएर विदामा घुम्न जाँदा सोही दिन काठमाडौ फर्किन पनि सकिने भएकाले पनि अहिले पर्यटकहरु भित्रिन थालेको गाउँपालिकाले जनाएकोछ । यहाँका सँस्कृतीलाई नजिकबाट नियाल्दै आनन्द लिन आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै खान, बस्न ब्यवस्थित होमस्टे समेत सञ्चालनमा छन् ।
.jpg)


