भदौ २० काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जाकर्ताले इन्डोनेसियन लिग वानमा नयाँ सिजन आज सुरु गर्दैछ ।
आइतबार पर्सिजाले पहिलो चरणको खेलमा पिएसएस स्लेमनको सामना गर्दै नयाँ सिजनको सुरुवात गर्न लागेको हो । खेल नेपाली समयअनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।
इन्डोनेसियाको शिर्ष डिभिजन लिग गत शुक्रबार नै सुरु भएको हो । रोहित सम्मिलिन पर्सिजाको भने आज खेल रहेको छ । पिएसएस स्लेमनविरुद्ध रोहितसमेत खेल्ने सम्भावना रहेको छ । इटालीयन प्रशिक्षक एन्जेलो एलेसियोको आगमनसँगै पर्सिजाले लिगमा पहिलो खेल खेल्दैछ । अघिल्लो हप्ता मात्रै इन्डोनेसिया पुगेर ८ दिनको क्वारेन्टिन समय विताएपछि रोहित टोलीको अभ्यास सत्रमा सहभागी भएका हुन् ।
यता, नेपालले समेत आज नै भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ । यसअघि रोहित टोलीसँगै पोखरामा बन्द प्रशिक्षणमा रहँदा इन्डोनेसिया उडेका थिए ।


